सप्तरी , कार्तिक १२ —
सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित धर्मराज बाबा धान–गहुँ खरिदबिक्री केन्द्रको गोदामबाट ३०० बोरा गहुँ चोरी भएको भनिएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
गोदाम सञ्चालक गंगाराम महराका अनुसार कात्तिक ६ गते राति गोदामको ताल्चा फुटाएर करिब ३०० बोरा गहुँ चोरी भएको हो। प्रतिबोरा ६० किलोका दरले चोरी भएको गहुँको मूल्य करिब ८ लाख ८२ हजार रुपैयाँ रहेको उनको दाबी छ।
तर प्रहरीले घटनास्थलमा चोरी पुष्टि गर्ने स्पष्ट भौतिक प्रमाण फेला नपरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक श्याममणि पोखरेलका अनुसार सुरुमा १५० बोरा चोरी भएको जानकारी दिइएको थियो भने पछि ३०० बोरा हराएको दाबी गरिएको थियो।
ठूलो परिमाणमा गहुँ ओसारपसार गरिएको भनिए पनि घटनास्थलमा गहुँ छरिएको वा सवारीसाधनको चक्काको निशान नभेटिएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले आसपासका सीसीटीभी फुटेज तथा स्थानीयसँग सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिएका छन्।







