पर्सा , कार्तिक १२ —
प्राविधिक समस्याका कारण नेपाल प्रहरीले प्रदान गर्दै आएका विभिन्न अनलाइन सेवा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार आधिकारिक वेबसाइट, मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली तथा ट्राफिक नियम उल्लङ्घनबापतको जरिवाना अनलाइनमार्फत भुक्तानी गर्ने सेवा प्रभावित भएका हुन्।
सेवा अवरुद्ध हुँदा ट्राफिक जरिवाना तिर्ने, प्रहरी भर्ना फाराम भर्ने तथा वेबसाइट र एपमार्फत सूचना लिने सेवाग्राही समस्यामा परेका छन्।
नेपाल प्रहरीले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको जनाउँदै सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएको छ।
सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमा माग्दै प्रहरीले धैर्यधारण गर्न अनुरोध गरेको छ।







