विराटनगरमा ब्याट्री व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

विराटनगर , कार्तिक १२ —

विराटनगरमा ब्याट्री व्यवसाय गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक हार्डवेयर व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर–६ का ३६ वर्षीय अफ्रोज आलम तथा शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा १३ वर्षीय भारतीय बालक र १६ वर्षीय नेपाली किशोर रहेका छन्।

विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका गुप्ता कात्तिक ६ गतेदेखि बेपत्ता थिए। दुई दिनपछि उनको शव सुनसरीको बर्जु गाउँपालिका–२ स्थित केशलिया खोलाको किनारमा फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चोरीको आरोप लगाएको विषयमा विवाद भएपछि आलमले गुप्तालाई आफ्नै घरमा बोलाएर फलामको पाइप प्रहार गरी हत्या गरेको आरोप छ।

हत्यापछि दुई नाबालकको सहयोगमा शव कार्पेटमा बेरेर सिटी सफारीमार्फत खोलाको किनारमा लगेर फालिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा प्रयोग भएको जीआई पाइप, मृतकको मोबाइल फोन र शव ओसार्न प्रयोग गरिएको कार्पेट बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः