१९ वर्षपछि पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त चौधरी कारागार चलान

1200x150_1200x150-01.jpg (1)

१४ कातिक,बारा । बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्या भएको १९ वर्षपछि घटनाका मुख्य अभियुक्त लालबहादुर चौधरी धामी अदालतमा उपस्थित भएका छन्।

बिहीबार बारा जिल्ला अदालतमा हाजिर भएका चौधरीलाई अदालतले पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरेको छ। २०६४ सालमा भएको पत्रकार साहको अपहरण तथा हत्याको घटनामा संलग्न रहेको अभियोग लागेका चौधरी लामो समयदेखि फरार थिए।

घटनाका अन्य अभियुक्तहरू पक्राउ परिसकेका छन् भने केहीले अदालतबाट तोकिएको सजाय भुक्तान गरिसकेका छन्। पत्रकार साहको हत्या प्रकरण तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यतिर भएको थियो।

उनी एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध रहेर पत्रकारिता गर्दै आएका थिए। २०६४ असोज १८ गते बाराको साविक उम्जन गाविसअन्तर्गत पिपरा बजारबाट साहलाई अपहरण गरिएको थियो। उनीसँगै रहेका रामदेव दासलाई समेत अपहरण गरिए पनि पछि मुक्त गरिएको थियो।

दासले प्रहरीलाई दिएको बयानका आधारमा घटनाको अनुसन्धान अघि बढेको थियो। अपहरण भएको करिब ३५ दिनपछि अर्थात् २०६४ कात्तिक २२ गते बाराको साविक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा साहको शव फेला परेको थियो।

अनुसन्धानका क्रममा उनलाई गोली प्रहार गरी हत्या गरिएको खुलेको थियो। पाँच जनाविरुद्ध हत्या अभियोग अनुसन्धानका क्रममा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरू लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनीको नाम घटनामा जोडिएको थियो।

घटनापछि मनेजर गिरी २०६५ असोज १९ गते र रामएकवाल सहनी सोही वर्ष पुस २१ गते पक्राउ परेका थिए। उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा चल्यो। जिल्ला अदालतले २०६८ जेठ १६ गते दुवैलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। पछि उनीहरूले भोगिरहेको सजायमध्ये बाँकी कैद मिनाहा भएपछि कारागारमुक्त भएका थिए।

लामो समय फरार रहेका कुन्दन भनिने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहलस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। उनलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो। त्यसैगरी हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए। उनी पनि लामो समयदेखि फरार रहेका अभियुक्त थिए। बारा जिल्ला अदालतले २०७८ पुस २६ गते गरेको फैसलामा कुन्दन भनिने नरेन्द्र फौजदारलाई पाँच वर्ष र हरेराम पटेललाई दुई वर्ष कैद सजाय तोकेको थियो।

उनीहरू पनि सजाय भुक्तान गरेर कारागारमुक्त भइसकेका छन्। मुख्य अभियुक्त लामो समयसम्म फरार पत्रकार साहको हत्या प्रकरणमा अन्य अभियुक्तहरू पक्राउ परे पनि लालबहादुर चौधरी धामी लामो समयसम्म फरार रहँदै आएका थिए। उनी घटनाका मुख्य योजनाकारमध्ये एक रहेको अभियोग लागेको थियो।

२०७९ वैशाखमा सार्वजनिक भएको विवरणअनुसार समेत चौधरी फरार नै थिए। उनको खोजी र पक्राउको माग पत्रकार महासंघ तथा पत्रकारिता क्षेत्रबाट निरन्तर उठ्दै आएको थियो। पत्रकार साहको हत्यापछि नेपाल पत्रकार महासंघले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। महासंघको टोलीले २०६४ असोज २३ गते सार्वजनिक गरेको निष्कर्षमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताको संलग्नता औँल्याइएको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः