पर्सा , कार्तिक १५ —
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित निकालेको छ। वर्षाका कारण मैदान ओसिलो भएपछि पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो।
वर्षाले मैदान भिजेपछि खेल सञ्चालन गर्ने विषयमा अन्योल भएको थियो। ओसिलो मैदानलाई कारण देखाउँदै सुदूरपश्चिमले लामो समयसम्म खेल्न आनाकानी गरेको थियो। क्यान र दर्शकको दबाब तथा लामो छलफलपछि सुदूरपश्चिम पाँच ओभरको खेल खेल्न तयार भएको थियो।
पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा एक सय पाँच रन बनाउँदै सुदूरपश्चिमलाई एक सय ६ रनको लक्ष्य दिएको थियो। विराटनगरका लागि शेहान जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ३९ रन बनाए। लोकेश बम १० बलमा एक चौका र तीन छक्कासहित २५ रनमा अविजित रहे। त्यस्तै, आन्द्रे रसेलले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन जोडे।
एक सय ६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। उसका लागि स्कट कुग्लिनले ६ बलमा २८ रन बनाए। साइफ जैब र आरिफ शेखले समान १७ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्।
यसअघि खेलेका दुवै खेलमा पराजित भएको विराटनगरका लागि यो जित महत्त्वपूर्ण बनेको छ। प्लेअफ पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा रहेको विराटनगरले तेस्रो खेलमा दुई अङ्क जोडेको छ।






