वीरगंज , मङ्सिर ३-
यौनजन्य हिंसा न्यूनीकरणका लागि पर्साका चार विद्यालयका ३०२ विद्यार्थीलाई सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको तीनदिने अभियानअन्तर्गत बुधबार दोस्रो दिन कक्षा सञ्चालन गरिएको हो।
काबेरी एकेडेमी, पोखरियाको रामदेव कलवार माध्यमिक विद्यालय, बहुदरमाईको मुखदेव सुशीला प्राविधिक माध्यमिक विद्यालय र छिपहरमाईको मङ्गल माध्यमिक विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
प्रहरीका अनुसार मधेस प्रदेशमा यौनजन्य हिंसाका घटना बढ्दै गएपछि अभियान सञ्चालन गरिएको हो। यस्ता अपराध नियन्त्रणका लागि प्रहरीसँगै नागरिक समाज र सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए।






