वीरगंज , मङ्सिर २ –
वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १८ दिने शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
बाराको कलैया उपमहानगरपालिका–२२ मदिलवाका शिशुलाई जन्डिसको समस्या देखिएपछि गत कात्तिक २९ गते अस्पताल भर्ना गरिएको थियो। एनआईसीयूमा उपचाररत शिशुको स्वास्थ्यमा सुधार आएको भन्दै डिस्चार्ज गर्ने तयारी भइरहेका बेला एक नर्सले सुई लगाएपछि अवस्था बिग्रिएको आफन्तको दाबी छ। बच्चाको अवस्था बिग्रिन थालेपछि तत्काल चिकित्सक उपचारका लागि नआएको उनीहरूको आरोप छ। अस्पतालले दिउँसो २ बजेर १८ मिनेटमा शिशुको मृत्यु भएको जानकारी दिएको परिवारले जनाएको छ।
घटनाको सत्यतथ्य सार्वजनिक गर्न, सीसीटीभी फुटेज उपलब्ध गराउन र निष्पक्ष छानबिन गर्न माग गर्दै आफन्तले छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
यता, अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेको छ। अस्पतालका अनुसार शिशुमा पहिलेदेखि नै २१ प्वाइन्ट जन्डिस देखिएको र घरमै पाँच पटकसम्म चम्की आएको थियो। त्यसले मस्तिष्कमा असर पारेका कारण मृत्यु भएको अस्पतालको भनाइ छ।
यसैबीच, घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सामा अस्पताल प्रशासन र मृतक शिशु पक्षबीच वार्ता भइरहेको छ। वार्तामार्फत समस्या समाधानको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले बताएका छन्।








