पर्साका १० स्थानीय तहले अझै खोलेनन् आर्थिक कारोबारको खाता

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १८ –

नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिनाभन्दा बढी बितिसक्दा पनि पर्साका १४ स्थानीय तहमध्ये १० वटाले आर्थिक कारोबारका लागि खाता सञ्चालन गर्न सकेका छैनन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) पर्साका अनुसार बिहीबारसम्म वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाले मात्र खाता सञ्चालन गरेका छन्।

बाँकी स्थानीय तहले खाता सञ्चालनका लागि आवश्यक निवेदन तथा कागजातसमेत पेश नगरेको प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले बताए। खाता सञ्चालनका लागि बजेट पारित भएको विवरण, अख्तियारी र आवश्यक निवेदन पेश गर्नुपर्ने व्यवस्था छ।

पोखरिया, बहुदरमाई, कालिकामाई, धोबिनी, जगरनाथपुर, ठोरी, पटेर्वा सुगौली, सखुवा प्रसौनी र छिपहरमाईले बजेट पारित गरिसके पनि खाता सञ्चालन गरेका छैनन्। वडा तहबाट योजनाहरू समयमै नआउँदा बजेट प्रणालीमा प्रविष्टि गर्न ढिलाइ भएको स्थानीय तहका स्रोतले बताएका छन्।

यता, पकाहा मैनपुर गाउँपालिकाले भने चालु आर्थिक वर्षको बजेट नै गाउँसभाबाट पारित गर्न सकेको छैन। जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारितमा ढिलाइ भएको जनाइएको छ।

खाता सञ्चालनमा ढिलाइ हुँदा अधिकांश स्थानीय तहका कर्मचारीको तलब भुक्तानी तथा विकास निर्माणका योजनासहित प्रशासनिक र अन्य आर्थिक गतिविधि प्रभावित भएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः