भारतीय प्रियागोल्ड बिस्कुट नेपालमा रोक : बजारबाट फिर्ता गर्न निर्देशन

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ६ –

मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग गरिएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका सबै उत्पादन फिर्ता गर्नसमेत निर्देशन दिएको छ।

विभागका अनुसार भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले गरेको निरीक्षणका क्रममा प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखानामा गाईवस्तुको दानाका लागि प्रयोग हुने चोकर बिस्कुट उत्पादनमा प्रयोग गरिएको पाइएको थियो।

निरीक्षणका क्रममा कारखानाको सरसफाइ, कीटनाशक नियन्त्रण, कच्चापदार्थ भण्डारण र कर्मचारीको स्वच्छतासम्बन्धी व्यवस्थामा समेत कमजोरी भेटिएको जनाइएको छ। त्यसपछि भारतमा कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

नेपालमा पनि विभागले प्रियागोल्ड बिस्कुटका सबै ब्याचको बिक्री रोक्न र बजारमा रहेका उत्पादन फिर्ता गर्न आयातकर्ता तथा व्यवसायीलाई निर्देशन दिएको छ। फिर्ता गरिएका बिस्कुट स्थानीय प्रशासन र विभागका प्राविधिकको रोहबरमा नष्ट गरिने जनाइएको छ।

निर्देशन उल्लङ्घन गरी बिक्री वितरण जारी राखे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सम्बन्धित पोस्टहरुः