पर्सा , कार्तिक ६ –
नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि देशका केही भूभागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा सात दिनसम्म वर्षा हुने भन्दै फैलाइएको खबरप्रति ध्यानाकर्षण गराउँदै वर्षाको स्थान, मात्रा र अवधि अहिले नै निश्चित नभएको बताएका छन्।
उनका अनुसार मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले लामो अवधिको पूर्वानुमानमा अनिश्चितता रहन्छ। नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि सात दिनसम्मको पूर्वानुमान निश्चित नहुने उनले स्पष्ट पारे।
महर्जनले मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि विभागको आधिकारिक सूचनामा मात्रै विश्वास गर्न र अपुष्ट हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्।






