वीरगंज , भदौ २१ –
पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने फोहोर र दुर्गन्धित पानीका कारण गादी खोला प्रदूषित बनेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयका अनुसार फार्ममा जम्मा हुने मरेका कुखुरा, बिग्रिएका अण्डा, कुखुराको सुलीलगायत जैविक फोहोरबाट निस्कने पानी खेत हुँदै गादी खोलामा मिसिने गरेको छ । यसबाट रंगपुर, मकवानी टोल, बेलवा, कौवावन कटैया र देउरवानासम्म प्रभाव परेको उनीहरूको दाबी छ ।
गादी खोलाको पानी कृषि सिंचाइमा प्रयोग हुँदै आएको र प्रदूषित पानीका कारण धानबालीमा असर परेको स्थानीयको भनाइ छ । खोलाको पानी दुर्गन्धित बनेपछि पशुचौपायालाई समेत समस्या भएको र एउटा बाख्रा मरेको स्थानीयले दाबी गरेका छन् । तर बाख्राको मृत्यु प्रदूषित पानीकै कारण भएको पुष्टि भने भएको छैन ।
फार्मबाट आउने दुर्गन्ध साँझपख मानव बस्तीमा फैलिने गरेको स्थानीयको गुनासो छ । नजिकै गादी स्वास्थ्य चौकीसमेत रहेकाले वातावरण तथा स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय समाजसेवी दीपक रसाइलीले समस्या समाधानका लागि पटकपटक आवाज उठाए पनि प्रभावकारी सुनुवाइ नभएको बताए । उनले फार्म तथा खोलाको नियमित अनुगमन गरी पानीको नमूना परीक्षण गर्न माग गरेका छन् ।
स्थानीयको आरोपबारे फार्मका म्यानेजर राजकिशोर चौधरीले फार्मबाट निस्किएको पानीका कारण गादी खोलामा समस्या भएको विषयमा आफूलाई जानकारी नभएको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने विषयबारे बुझ्ने बताएका छन् ।
स्थानीयले फार्मबाट निस्कने फोहोर तथा पानीको व्यवस्थापन वातावरणीय मापदण्डअनुसार भए–नभएको अनुगमन गरी पानीको प्रयोगशाला परीक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।






