पर्सा , कार्तिक १९ –
वैदेशिक रोजगारीका लागि विदेश पुगेका चार जना नेपाली नागरिक आर्मेनियामा अलपत्र परेका छन्। कतारस्थित ‘एक्सपर्ट ग्रुप’ नामक कम्पनीले लाखौँ रुपैयाँ लिएर सम्झौताअनुसारको काम नदिएको आरोप लगाउँदै उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन्।
अलपत्र पर्नेमा सल्यानको वनघाट कोविण्डे नगरपालिका–१२ का २९ वर्षीय खुमबहादुर मगर, नवलपरासीको बर्दघाट नगरपालिका–१६ का प्रेमकुमार सुनार, मोरङको मिक्लाजुङ नगरपालिका–८ का पद्म महत र सङ्खुवासभाको अरुण गाउँपालिका–३ का उदय कार्की रहेका छन्।
उनीहरूका अनुसार कतारस्थित एक्सपर्ट ग्रुप कम्पनीले फ्याक्ट्रीमा प्याकेजिङ वर्करको काम लगाइदिने भन्दै प्रतिव्यक्ति लाखौँ रुपैयाँ लिएको थियो। दुई जनासँग जनही ४ लाख ६२ हजार रुपैयाँ र अन्य दुई जनासँग जनही ४ लाख ८३ हजार रुपैयाँ लिइएको उनीहरूको आरोप छ।
तर, सम्झौताअनुसार फ्याक्ट्रीमा काम लगाउनुको सट्टा माछा फार्ममा काम गर्न पठाइएको उनीहरूले बताएका छन्। सम्झौताभन्दा फरक काम गर्न अस्वीकार गरेपछि उनीहरू अहिले आर्मेनियाको एरेवनमा होटलमा कोठा भाडामा लिएर बस्न बाध्य भएका छन्।
चारै जना गत अक्टोबर ४, २०२६ मा कतारबाट दुबई हुँदै आर्मेनियाको एरेवन पुगेका थिए। अहिले उनीहरूको दैनिक बसाइ तथा खानपानमा प्रतिव्यक्ति करिब ४ हजार आर्मेनियन मुद्रा खर्च भइरहेको जनाइएको छ। आफूसँग भएको रकम सकिँदै गएको र परिवारबाट थप पैसा मगाउन सक्ने अवस्था नरहेको भन्दै उनीहरूले कठिनाइ भोगिरहेको बताएका छन्।
अलपत्र परेका मगरले आफन्त तथा सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत परिवारसँग सम्पर्क गरी आफूहरू ठगीमा परेको जानकारी गराएका छन्। उनीहरूले कम्पनीलाई लाखौँ रुपैयाँ बुझाएर विदेश पुगे पनि अहिले काम र बसोबासको अनिश्चिततामा पर्नुपरेको गुनासो गरेका छन्।
यस घटनापछि चारै जनाका परिवारले नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाल प्रहरीसँग उद्धार तथा घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
परिवारजनले एक्सपर्ट ग्रुप कम्पनीका सञ्चालक तथा प्रतिनिधि भनिएकी भारतको बिहार, पटना, गोविन्दगञ्जकी साक्षी कुमारीलाई समेत कानुनी दायरामा ल्याई अनुसन्धान गर्न माग गरेका छन्।
परिवारको आरोपअनुसार कम्पनीले टिकटकमार्फत नेपाली तथा हिन्दी भाषामा भिडियो सार्वजनिक गरी वैदेशिक रोजगारी खोजिरहेका नेपाली युवालाई आकर्षित गर्ने गरेको थियो। त्यसपछि पश्चिम एसियाली तथा युरोपेली मुलुकमा रोजगारीको प्रलोभन देखाएर विदेश पठाउने गरिएको उनीहरूको दाबी छ।
साक्षी कुमारीका परिवारका केही सदस्य वीरगंजको जेलरोड क्षेत्रमा बस्ने गरेको र उनी स्वयं पनि केही समय नेपालमा बसेको बताइएको छ । उनी नेपाली भाषा पनि बोल्छिन्।
परिवारले वैदेशिक रोजगारीका नाममा भएको भनिएको ठगीबारे सम्बन्धित निकायले आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न र आर्मेनियामा अलपत्र परेका चारै जना नेपालीलाई तत्काल उद्धार गरी स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।






