चुरियामाई नजिकै ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज — बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२, चुरियामाई मन्दिर नजिकै हेटौँडा-पथलैया सडक खण्डमा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

प्रहरीका अनुसार मिति २०८३ साल कार्तिक १९ गते साँझ अन्दाजी १७:३५ बजेको समयमा वीरगन्जबाट धादिङतर्फ जाँदै गरेको ना ६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्र.२-०३-००९ प ७९११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते तथा मृतकको विवरण:
मृतक (मोटरसाइकल पछाडि सवार): जिल्ला सर्लाही, बसवरिया गाउँपालिका-३ बस्ने अन्दाजी २१ वर्षीय निराजन यादव। दुर्घटनामा उनको शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो। साँझ १८:३० बजे जिल्ला अस्पताल हेटौँडा, मकवानपुर पुर्‍याइएकोमा चिकित्सकले जाँच गरी १८:३९ बजे इसीजी (ECG) गर्दा उनलाई मृत घोषणा गरेका थिए।

घाइते (मोटरसाइकल चालक): जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका-७, नयाँ बस्ती बस्ने अन्दाजी २१ वर्षीय नन्दकिशोर दास। उनको दुवै हात, दुवै खुट्टा र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ। उनको जिल्ला अस्पताल हेटौँडामा उपचार भइरहेको छ।

प्रहरीको उपस्थिति र चालक नियन्त्रणमा:
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिई गएको थियो। प्रहरीका अनुसार हाल उक्त सडक खण्डमा कुनै पनि किसिमको सडक अवरोध छैन।

दुर्घटनामा संलग्न ट्रकका चालक जिल्ला मकवानपुर, हेटौँडा उपमहानगरपालिका-५, कमाने बस्ने अन्दाजी ३० वर्षीय दीपक घलेलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टको टोलीसमेत खटिई गई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः