हतकडी लिएर आउनु – गगन थापा

1200x150_1200x150-01.jpg (1)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथि प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हुन् ।

सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको बताउँदै उनले त्यसबाट आफू नडराउने स्पष्ट पारे । आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन उनले चुनौती दिए । राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दै कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको उनले बताए ।

माओवादी सशस्त्र द्वन्द्वकाल र केपी ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको उल्लेख गर्दै उनले शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भए पनि आफू पछि नहट्ने धारणा राखे । सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप पनि उनले लगाए ।

हल्ला र चुनौतीबारे सभापति थापाले भने, ‘अहिले पनि साथीहरूले बेलाबेलामा सम्झाउनुहुन्छ, सरकार एकदम कडा छ, सरकार एकदम लोकप्रिय छ, सरकार एकदम शक्तिशाली छ, प्रश्न गर्‍यो भने तल–माथि हुन सक्छ ।’

अलिकति प्रश्न गर्न सुरु गर्दा साँच्चिकै साथीभाइहरू यसो तल–माथि कथा–पटकथा, अडियो–भिडियो सबै आउन थालेको बताउँदै उनले भने, ‘अनि साथीहरूले भन्नुभयो, तपाईँलाई पोखरा लैजाला, तपाईँलाई समात्ला ।’

पोखरा समात्ला भन्ने साथीहरूलाई आफूले जवाफ दिएको उल्लेख गर्दै उनले भने, ‘पक्रँदै गर्दा खाली हात चाहिँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न, यत्ति कुरा मात्रै हो, न नेपाली कांग्रेस पार्टीले आफ्नो चरित्र गुमाउँछ, न कांग्रेसको सभापतिले आफ्नो चरित्र गुमाउँछ ।’

दोषीलाई कारबाही गर्ने कुरामा आफूहरू सरकारसँगै रहे पनि राजनीतिक प्रतिशोध साँधे प्रतिकारमा उत्रिने चेतावनी सभापति थापाले दिए । सत्ता निकटलाई उन्मुक्ति दिने र अरूलाई मात्रै कारबाही गर्ने प्रवृत्ति मान्य नहुने उनको भनाइ छ ।

राज्यले विगतका कमजोरीबारे गरिरहेको अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने स्पष्ट पार्दै उनले अनुसन्धान कानुनअनुसार हुनुपर्ने बताए । तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने उनले बताए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः