काठमाडौं, मंसिर ९ –
नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीको समस्या र गुनासो सम्बोधन गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क सञ्चालनमा ल्याएको छ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको निर्देशनमा मंसिर ३ गते अपराध अनुसन्धान विभागका एसपी गोविन्द पुरीको नेतृत्वमा आठ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई आधारभूत तहका प्रहरी कर्मचारीका गुनासो संकलन, अभिलेखीकरण तथा सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयले सबै कर्मचारीलाई मोबाइलमार्फत गुगल फर्मको लिङ्क पठाएर गुनासो दर्ता गर्ने व्यवस्था मिलाएको छ। प्राप्त गुनासोमध्ये दैनिक सयौँ गुनासो आउने गरेको र सबैभन्दा बढी सरुवासम्बन्धी समस्या रहेको प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताएका छन्।
त्यस्तै, श्रीमान्–श्रीमती दुवै प्रहरी सेवामा रहेका कर्मचारीको जोडी मिलान, न्यून तलब, कल्याणकारी सुविधा तथा सहुलियत ऋणका विषयमा पनि गुनासो आएको छ। १६ वर्ष सेवा गरेपछि पेन्सन पाउनुपर्ने मागसमेत कर्मचारीले उठाएका छन्।
प्रहरीका अनुसार समितिले गुनासो प्राप्त भएको दुई दिनभित्र अध्ययन गरी सम्बन्धित निकायमा पठाउनेछ। सम्बन्धित निकायले बढीमा एक साताभित्र गुनासो सम्बोधन गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रहरी संगठनमा आधारभूत तहका कर्मचारीको हिस्सा ८२ दशमलव ५ प्रतिशत रहेको छ। उनीहरूको समस्या समाधान, पेसागत सुरक्षा र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले गुनासो व्यवस्थापन डेस्क स्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।






