सप्तरी, मंसिर ९ –
सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
गए राति हात्तीको आक्रमणबाट रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको थियो। घटनाका बेला उनीसँगै रहेका उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय त्रसित बनेका छन्। यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट शम्भुनाथ नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो।






