बारा, मंसिर ९ –
सिसिटिभी क्यामरा जडानको भुक्तानी विवादलाई लिएर बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवको निर्देशनमा तीनवटा शाखामा तालाबन्दी गरिएको छ।
मंगलबार नगर प्रहरी परिचालन गरी प्राविधिक, जिन्सी र लेखा शाखामा ताला लगाइएको हो। महत्वपूर्ण प्रशासनिक शाखामा तालाबन्दी भएपछि नगरपालिकाको नियमित कामकाज प्रभावित भएको छ भने सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन्।
भुक्तानी विवाद समाधानका लागि कानुनी तथा प्रशासनिक प्रक्रिया अपनाउनुपर्नेमा नगरप्रमुखकै निर्देशनमा शाखा बन्द गरिएपछि उनको कार्यशैलीमाथि प्रश्न उठेको छ। दोस्रो कार्यकाल सम्हालिरहेका नगरप्रमुख यादवमाथि यसअघि पनि एकलौटी ढङ्गले नगरपालिका सञ्चालन गरेको आरोप लाग्दै आएको छ।






