वीरगंज, मंसिर ९ –
रोजगारीका लागि लाखौँ रुपैयाँ खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक काम र पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।
रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौताअनुसार काम, तलब तथा सेवा–सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन्। उनीहरूले कम्पनीबाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन्।
श्रमिकहरूका अनुसार रोमानिया पुग्न प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च भएको छ। तर, महिनामा मुस्किलले दुई–तीन दिन मात्रै काम पाउँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत समस्या भएको छ। सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु उल्लेख भए पनि सोहीअनुसार पारिश्रमिक नपाएको र आवास खर्चका नाममा रकम कटौती हुन थालेको उनीहरूको गुनासो छ।
रोमानियास्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेन्द्र गौतमका अनुसार कम्पनीमा नेपालीसहित ६ सयदेखि ७ सय कामदार छन्। रोमानियाको आर्थिक गतिविधि सुस्ताउनु, कर बढ्नु र जाडो मौसम सुरु हुनुले कामको मात्रा घटेको तथा आवास खर्च कटौती हुँदा श्रमिकको हातमा आउने रकम कम भएको उनको भनाइ छ।
गौतमका अनुसार रोमानियामा ७५ देखि ८० हजार नेपाली रहेको अनुमान छ। तर, सरकारी अभिलेखमा ५० देखि ५५ हजारको हाराहारीमा मात्रै नेपालीको विवरण छ। उनले नेपाली श्रमिकको समस्या समाधानका लागि रोमानियामै नेपालको आधिकारिक कन्सुलर वा दूतावासको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
आन्दोलनरत श्रमिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्। उनीहरूले जर्मनीस्थित नेपाली दूतावासलाई कम्पनी र प्रभावित श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी वास्तविक अवस्था बुझ्न पनि आग्रह गरेका छन्।
यता, बर्लिनस्थित नेपाली दूतावासले भने नेपाली श्रमिक आन्दोलनमा उत्रिएको र उनीहरू समस्यामा परेको विषयमा जानकारी नभएको जनाएको छ।






