पर्सा , भदौ १९ –
रसुवाको भोटेकोशी बाढीबाट विस्थापित परिवारको पुनर्स्थापनाका लागि आवश्यक जग्गा पहिचान गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा सङ्घीय मामिला, पूर्वाधार मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, जिल्ला प्रशासन, स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भूमि प्रशासन र नापी कार्यालयका प्रतिनिधि सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले सदस्य सचिव रहेका छन्।
समितिले बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, पुरानै स्थानमा बस्न जोखिमपूर्ण भएका तथा जोखिमका बीच प्रभावित क्षेत्रमा बसिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्नेछ।
त्यस्तै, पुनर्स्थापनाका लागि आवश्यक जग्गा छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोवासका लागि आवश्यक कानुनी प्रक्रियासम्बन्धी सुझाव र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।







