पर्सा , भदौ २१ –
नग्न तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै एक महिलाबाट ९ लाख ९५ हजार रुपैयाँ असुलेको आरोपमा प्रहरीले काठमाडौंमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर–सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा रहेका छन् ।
प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत ती महिलासँग सम्पर्क गरी आफू ‘ह्याकर’ भएको दाबी गरेका थिए । महिलाका नग्न तस्बिर तथा भिडिओ आफूसँग रहेको भन्दै रकम मागेर नदिए सार्वजनिक गरिदिने धम्की दिएको आरोप छ ।
सोही क्रममा बुढाले ती महिलाबाट ९ लाख ९५ हजार रुपैयाँ लिएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुढाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







