पर्सा , कार्तिक ६ –
‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था सतर्क भएका छन्। सम्भावित साइबर आक्रमणबाट ग्राहकका विवरण र बैंकिङ प्रणाली सुरक्षित राख्न बैंकहरूले प्राविधिक जाँच तथा सुरक्षा सुधारको काम अघि बढाएका छन्।
ग्लोबल आईएमई, एनआईसी एसिया, प्राइम कमर्सियल, माछापुच्छ्रे, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र महालक्ष्मी विकास बैंकलगायतले सूचना जारी गर्दै आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार भइरहेको जनाएका छन्।
बैंकहरूले एटीएमलगायतका नियमित बैंकिङ सेवा बन्द नगरेको स्पष्ट पारेका छन्। यसबीच साइबर सुरक्षा विज्ञहरूले शंकास्पद म्यासेज तथा लिङ्कबाट सतर्क रहन सुझाव दिएका छन्।
विश्वभर वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी भेटिएपछि नेपालसहित विभिन्न देशका सरकारी कार्यालय, बैंक तथा अस्पतालका वेबसाइट प्रभावित भएका छन्। नेपालको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि सरकारी, वित्तीय तथा निजी संस्थालाई आफ्ना वेबसाइट र प्रणाली सुरक्षित संस्करणमा अद्यावधिक गर्न निर्देशन दिएको छ।







