सौरभको निवेदनमा फिल्म ‘दूसरा’को प्रदर्शन रोक्न अदालतद्वारा अस्वीकार

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक ६ –

भारतका पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले आफ्नो व्यक्तित्वको अधिकार उल्लङ्घन भएको दाबी गर्दै फिल्म ‘दूसरा’को प्रदर्शन रोक्न माग गरे पनि दिल्ली उच्च अदालतले त्यसलाई अस्वीकार गरेको छ। फिल्म शुक्रबार (अक्टोबर २३) देखि सिनेमा हलमा प्रदर्शन हुने तय भएको छ।

न्यायाधीश दिनेश भट्टको इजलासले तत्काल फिल्म प्रदर्शनमा रोक नलगाउने निर्णय गर्दै मुद्दाको सुनुवाइ शुक्रबारका लागि तोकेको छ।

गांगुली र फिल्म निर्माण कम्पनी लभ फिल्म्स एलएलपीले फिल्ममा उनको नाम, छवि तथा सन् २००२ को नेटवेस्ट सिरिजको फाइनलमा भारतको जितपछि लर्ड्स मैदानको बाल्कोनीमा उनले गरेको चर्चित उत्सवलाई व्यावसायिक प्रयोजनका लागि अनुमति बिना प्रयोग गरिएको आरोप लगाएका छन्।

गांगुलीको जीवनमा आधारित बायोपिक निर्माणको अधिकार आफूहरूसँग रहेको दाबी गर्दै लभ फिल्म्सले पनि फिल्मको प्रदर्शन रोक्न माग गरेको छ।

तर फिल्म निर्माताका वकिलले ‘दूसरा’ गांगुलीको बायोपिक नभई राजस्थानकी एक मध्यमवर्गीय युवतीको कथा भएको बताएका छन्। क्रिकेटका केही ऐतिहासिक घटनाबाट प्रेरित हुने ती युवतीको कथामा गांगुलीको चर्चित उत्सवलाई प्रेरणाका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ।

अदालतले तत्काल प्रदर्शन रोक्न अस्वीकार गरे पनि मुद्दाको अन्तिम टुङ्गो भने लागिसकेको छैन।

सम्बन्धित पोस्टहरुः