पर्सा , कार्तिक वीरगञ्ज महानगरपालिका–११ श्रीपुर नयाँ बस्तीस्थित स्थानीय सनोज साहको घरबाट नगद ३० हजार रुपैयाँसहित सुनचाँदीका गरगहना चोरी भएको छ।
घरधनी भान्जालाई काठमाडौंस्थित विमानस्थलमा छोड्न गएको समयमा घर सुनसान रहेको मौका छोपेर चोरी भएको बताइएको छ। घरधनीका दाइ विनोद साह तेलीका अनुसार चोरी भएका गरगहनाको मूल्य करिब २५ लाख रुपैयाँ बराबर छ।
तर, जिल्ला प्रहरी कार्यालय पर्साले नगद ३० हजार रुपैयाँसहित गरगहना चोरी भएको जनाएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा चोरी भएको सामानको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पीडित पक्षले चोरी भएका गरगहना बरामद गरी संलग्न व्यक्तिलाई पहिचान गर्न प्रहरीसँग माग गरेको छ।






