रौतहट । कटहरिया नगरपालिका–५ पिपरा पोखरिया निवासी ६२ वर्षीय लक्ष्मी महतोले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुचित लेनदेन (मिटरब्याज) शाखामा ड्युटीमा रहेका प्रहरी कर्मचारीले बलपूर्वक कागजमा सहीछाप गराएको आरोप लगाएका छन् ।
गौरबाट घरतर्फ जाँदै गरेको क्रममा गौर बसपार्कबाट बोलाएर पहिले नै लेखेर राखिएको कागजमा दुवै औँठाको ल्याप्चे छाप लगाउन बाध्य पारिएको पीडितको दाबी छ । महतोले रौतहट जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय कटहरियासहित देवाही गोनाही नगरपालिका–७ निवासी सर्फलाल राउत कुर्मी र बृजकिशोर राउत पटेलविरुद्ध दायर गरेको निषेधाज्ञा मुद्दामा मङ्सिर ७ गते अदालतले निवेदकसँग कुनै किसिमको लिखत, पक्राउ तथा धाकधम्कीलगायतका कार्य नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशविपरीत प्रहरीले कुटपिट गर्दै कागजमा सहीछाप गराएको महतोले आरोप लगाएका हुन् ।
ल्याप्चे र सहीछाप गराएपछि प्रहरी कार्यालयबाट फर्किएका महतोले सञ्चारकर्मीसँग गुनासो गर्दै प्रहरीले कानुनविपरीत आफूमाथि अन्याय गरेको बताए । विपक्षीको प्रभावमा परेर अनुचित लेनदेन शाखामा कार्यरत प्रहरी कर्मचारीले जबरजस्ती कागजमा सहीछाप गराएको उनको दुखेसो छ ।
न्याय दिने निकायबाटै अन्याय भएको भन्दै उनले प्रहरीप्रति विश्वास गर्ने अवस्था नरहेको टिप्पणी गरे । सहीछाप गर्न नमान्दा मुक्काले ढाडमा हिर्काउँदै थुनिदिने धम्की दिएको र पहिले नै तयार पारिएको कागजमा ल्याप्चे छाप लगाउन लगाइएको पीडितको भनाइ छ ।
रौतहट जिल्ला अदालतले जारी गरेको म्याद सूचना मङ्सिर ८ गते मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा तामेल भइसकेको प्रमाण देखाउँदै उनले रिट निवेदनबारे जानकारी हुँदाहुँदै पनि भएको उक्त कार्यको छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।







