काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा एमालेसँग मिलेर जाने नीतिगत सहमति भइसकेको र पार्टी एकतासम्म पुग्नुपर्ने बताएका छन् ।
गत निर्वाचनमा कमजोर नतिजा बेहोरेपछि दुवै दलमा सहकार्यको दबाब बढेको छ । हिजो गोरखा पुगेका प्रचण्डले प्रदेश सरकारमा सहकार्यबाट कार्यगत एकता सुरु भइसकेको बताएका थिए ।
‘सहकार्य गर्ने सहमति त भइसकेको छ । एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै सङ्घर्ष गर्ने सहमति भइसकेको छ । स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ प्रचण्डको भनाइ थियो । सहकार्यका विषयमा एमाले नेताहरूसँग निरन्तर छलफल भइरहे पनि पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुरा बुझाउन सजिलो नभएको उनको भनाइ थियो ।
फागुन २१ को निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा बेहोरेपछि आगामी स्थानीय तहको निर्वाचनमा मिलेर जानुपर्ने विषयमा दुवै दलका नेताहरूले पहल थालेका छन् । वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना छ ।
प्रचण्ड एमालेसँग चुनावी तालमेल मात्रै होइन, पार्टी एकता नै गर्न चाहन्छन् । अब पनि कम्युनिस्ट घटकहरू मिल्न ढिला गरे देश दुर्घटनातर्फ जानेसम्मको टिप्पणी उनले गर्दै आएका छन् । जनमतका हिसाबले पनि कम्युनिस्ट पार्टीहरू ३० वर्षयताकै कमजोर अवस्थामा पुगेका छन् । गएको निर्वाचनमा रास्वपाको लहर चल्दा एमालेले २५ र नेकपाले १७ सिट मात्रै जितेका थिए ।
अङ्कगणितले पनि त्यसबेलै कम्युनिस्टहरू मिलेर लडेको भए कम्तीमा २३ सिट थपिने देखाउँछ । यही दबाबका कारण दुवै पक्ष आगामी स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने विषयमा सकारात्मक देखिएका छन् । यद्यपि, औपचारिक सहमति भने भइसकेको छैन ।
प्रचण्डले हालसम्म २७ कम्युनिस्ट घटकलाई एकता प्रक्रियामा ल्याइसकेको बताउँदै एमालेलाई पनि एकतामा आउन आह्वान गरिरहेका छन् । तर, प्रचण्डसँग पार्टी नै एकीकरण गर्न अध्यक्ष ओली त्यति लचिलो देखिँदैनन् । २०७४ सालको निर्वाचनमा ओली र प्रचण्डले दुई पार्टी मिलाएर करिब दुई तिहाइ मत ल्याउन सफल भए पनि आन्तरिक द्वन्द्वले पार्टी छिन्नभिन्न भएको थियो ।
पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको नेतृत्वमा पार्टी एकताको चर्चा चले पनि ओलीले उनलाई पार्टीको वरिष्ठ नेता बनाएपछि तत्काल उनको नेतृत्वमा नेकपासँग एकता भइहाल्ने स्थिति नबनेको नेताहरू बताउँछन् ।
तालमेलमा सकारात्मक, एकतामा छैन गृहकार्य
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले एमालेसँग हालसम्म प्रदेश सरकार गठनका विषयमा मात्रै औपचारिक सहमति भएको बताए । “त्यसबाहेक अरू ठोस सहमति भएको छैन । त्यही सहमतिको सेरोफेरोमा स्थानीय तह र प्रदेशको निर्वाचनमा वामपन्थीहरूबीच सहकार्य गरेर जानुपर्छ भन्ने हो । एमालेसँग चुनावी तालमेल हुनुपर्छ भन्ने विषयमा सामान्य समझदारी बनेको हो, तर थप छलफल र ठोस सहमति भइसकेको छैन,” उनले भने ।
आपसी समझदारीमा आगामी चुनावमा मिलेर जानुपर्ने र तालमेल गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै ज्वालाले थपे, ‘सहमतिलाई मूर्तरूप दिने वा ठोस सहमतिका रूपमा अघि बढाउने काम अहिलेसम्म भएको छैन । यद्यपि, वामपन्थी सहकार्यलाई अघि बढाउँदै एकतासम्म पुग्नुपर्छ भन्नेमा पार्टी दृढ छ ।’
एमालेका सचिव राजन भट्टराईले पनि नेकपासँग चुनावी तालमेलबारे अनौपचारिक छलफल भइरहेको तर औपचारिक निर्णय नटुङ्गिएको बताए । पार्टीभित्र नेकपासँग मिलेर चुनावमा जानुपर्छ भन्ने मत रहेको उल्लेख गर्दै उनले भने, ‘केन्द्रबाट टुङ्ग्याएर मात्रै हुँदैन, तल्लो तहको वस्तुस्थितिका आधारमा तय गर्नुपर्छ । तर, तालमेल हुन सक्छ ।’ चुनावी तालमेलबारे छलफल भए पनि पार्टीभित्र एकताको विषय अहिलेसम्म नउठेको उनले प्रस्ट पारे ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पनि चुनावी तालमेलको सम्भावना स्वीकार गरे ।
‘औपचारिक तहमा एजेन्डा बनेर छलफल भएको छैन, अनौपचारिक तहमा कुराकानी भइरहेका छन्,’ उनले भने, ‘निर्वाचन घोषणा नहुँदै निर्णय गर्नु हतार हुन्छ । चुनाव घोषणा भएपछि औपचारिक छलफलबाट आवश्यक निर्णय होला ।’ तालमेलको कुरा अनौपचारिक रूपमा उठे पनि नेकपासँग पार्टी एकता गर्नेबारे कहीँकतै एजेन्डा बनेर छलफल नभएको उनले स्पष्ट पारे ।
त्यसो त आज दाङ पुगेका एमाले महासचिव शंकर पोखरेलले पनि स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने नीति पार्टीको पहिलेदेखि नै रहेको बताए । यद्यपि, नेकपासँग तालमेलबारे छलफल निष्कर्षमा पुगिनसकेको उनले प्रस्ट पारे ।
पत्रकार सम्मेलनमा उनले भने, ‘वामपन्थीहरूबीच तालमेल हुँदा भोट ट्रान्सफर गर्न सजिलो हुन्छ भन्ने बुझाइमा नेकपा पुगेको देखिन्छ । एमालेसँग तालमेल गर्दा आम निर्वाचनमा ३६ सिट प्राप्त गरेको थियो, कांग्रेससँग गर्दा १८ सिटमा झरेको थियो । त्यसले गर्दा नेकपाका नेताहरूलाई एमालेसँग तालमेल गर्नुपर्दछ भन्ने चेत फिरेको हुनुपर्छ, त्यो सकारात्मक हो ।’
सिट बाँडफाँट कसरी ?
नेकपाका नेता जगन्नाथ खतिवडाले चुनावी तालमेलबारे दुवै दलका नेताहरूबीच सकारात्मक ढङ्गले छलफल भइरहेको बताए । तर, पार्टीबीचको मेल लेनदेन र आपसी सहमतिमा निर्भर रहने उनको भनाइ छ ।
‘तालमेल गर्दा देशभरका पालिकामा कतिवटा पालिका कसले लिने र कसरी उम्मेदवारी दिने लगायतका धेरै विषय जोडिएका हुन्छन्,’ उनले भने, ‘यस्ता विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन । अहिलेको अवस्था सामान्य सैद्धान्तिक अवधारणा मात्रै हो ।’
तालमेलको छलफल सकारात्मक दिशामा अघि बढे पनि एमालेसँग तत्काल पार्टी एकताबारे कुनै गृहकार्य नभएको खतिवडाले बताए ।
‘एकता हाम्रो प्रमुख एजेन्डा पनि होइन । विगतमा पार्टी विभाजन हुनुको कारण नै थाहा नपाई एकताको नयाँ सम्भावना खोज्न गाह्रो हुन्छ । विभाजनका कारणहरूको समीक्षा नगरी एकताको प्रक्रिया कहाँबाट सुरु गर्ने भन्ने प्रश्न पनि उठ्छ,’ उनले भने ।
आफूहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउने पहलकदमी लिए पनि एमाले अध्यक्ष ओलीको अभिव्यक्तिमा त्यस्तो संकेत नदेखिएको र एक पक्षले चाहेर मात्रै एकता नहुने उनको भनाइ छ ।







