पर्सा , भदौ २३ –
पर्सागढी नगरपालिका–२ हरपुर गोडपसरा जाने जिरात बाटोबाट काठ तस्करीको आरोपमा पक्राउ परेका एक व्यक्ति हतकडीसहित प्रहरी नियन्त्रणबाट फरार भएका छन् ।
मङ्गलवार बिहान करिब ५ बजे साइकलमा करिब १० थान काठ ल्याउँदै गरेका केही व्यक्तिलाई प्रहरी चौकी मनवाबाट खटिएको टोलीले नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीलाई देखेपछि अन्य व्यक्ति काठ र साइकल छाडेर फरार भएका थिए भने प्रहरीले एक जनालाई काठसहित पक्राउ गरेको थियो ।
बरामद काठ ट्याक्टरमा लोड गरी प्रहरी चौकी लैजाने क्रममा पक्राउ परेका व्यक्ति प्रहरीको निगरानीबाट उम्किएर हतकडीसहित फरार भएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सासहितका टोली परिचालन गरी उनको खोजी भइरहेको छ ।
केही महिनाअघि प्रहरी चौकी बडनिहारबाट पनि काठ तस्करीको आरोपमा पक्राउ परेका व्यक्ति हतकडीसहित फरार भएको घटना सार्वजनिक भएको थियो । लगातार यस्ता घटना दोहोरिएपछि प्रहरीको सुरक्षा तथा निगरानी व्यवस्थामाथि प्रश्न उठेको छ । पछिल्लो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






