पर्सा, कार्तिक ७ –
पर्साको ठोरी गाउँपालिका–३ स्थित बुद्धनगरको ओडारखोला बगरमा एक भारतीय युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको इनरवा क्षेत्रस्थित खमियाका लालु देवानका २० वर्षीय छोरा इरसाद आलमको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो । पोस्टमार्टमपछि आफन्तलाई शव बुझाइएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तका अनुसार आलम चार दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी स्थानीय गोलु ठाकुरसँगै ठोरी आएको आफन्तले बताएका छन् ।
यसैबीच, भारतको इनरवा प्रहरीमा ठाकुरविरुद्ध किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ । खमियाका शम्भु यादवका अनुसार ठाकुरलाई मैनाटाँड थानामा राखेर सोधपुछ भइरहेको छ ।
युवकको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे नेपाल र भारतका सम्बन्धित प्रहरी निकायले अनुसन्धान गरिरहेका छन् ।






