दीपावली र छठलाई लक्षित गर्दै भारतीय सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

1200x150_1200x150-01.jpg (1)

रक्सौल, कार्तिक ७ –

दीपावली र छठ पर्वलाई लक्षित गर्दै भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । पूर्वी चम्पारणका प्रहरी अधीक्षक स्वर्ण प्रभातले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थाको निरीक्षण गर्दै सुरक्षा निकायलाई निगरानी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यम भ्वाइस अफ रक्सौलका अनुसार प्रहरी अधीक्षक प्रभातले बिहीबार साँझ लाला छपरा–मटियरवा सीमा क्षेत्रको आकस्मिक निरीक्षण गरेका थिए । उनले सीमा क्षेत्रमा खटिएका सशस्त्र सीमा बल (एसएसबी) तथा प्रहरी अधिकारीसँग भेटेर सुरक्षा अवस्था र गतिविधिबारे जानकारी लिएका थिए ।

निरीक्षणअघि उनले छौडादानो प्रहरी थानाको अनुगमन गरेका थिए । त्यसपछि रक्सौलका प्रहरी उपरीक्षक (एसडीपीओ) मनीष आनन्दसँगै सीमावर्ती क्षेत्रमा पुगेका उनले बेलदरवा एसएसबी क्याम्पका अधिकारी र आदापुर प्रहरी थानाका प्रमुखसँग सीमा सुरक्षाबारे छलफल गरेका थिए ।

निरीक्षणका क्रममा उनले भारतीय तथा नेपाली क्षेत्रका स्थानीय बासिन्दासँग संवाद गर्दै उनीहरूका समस्या र दैनिक जीवनबारे जानकारी लिएका थिए । आपत्कालीन अवस्थामा प्रहरी सहायता लिन डायल ११२ मा सम्पर्क गर्न आग्रह गर्दै उनले प्रहरी र नागरिकबीच समन्वय कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

सीमावर्ती क्षेत्रबाट फर्कने क्रममा प्रभातले रक्सौल प्रहरी थानाको पनि निरीक्षण गरेका थिए । उनले अपराध नियन्त्रण, सुरक्षा सतर्कता, प्रहरी मेसको सरसफाइ र खानाको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका थिए । चाडपर्वका बेला सीमा क्षेत्रमा सुरक्षा निगरानी र प्रहरी–एसएसबीबीच समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले निरीक्षण गरिएको जनाइएको छ ।

सम्बन्धित पोस्टहरुः