पर्सा, कार्तिक ७ –
दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका छन् ।
कर्णाली याक्सले शुक्रबार ३७ वर्षीय बायाँहाते ब्याटर मिलरलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । उनी कर्णालीमा आबद्ध हुने छैटौँ विदेशी खेलाडी हुन् । यसअघि क्लबले पाकिस्तानका साहिबजादा फरहान र हुसैन तलातसहित अन्य विदेशी खेलाडीलाई टोलीमा समेटिसकेको छ ।
मिलरले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग र पाकिस्तान सुपर लिगलगायतका चर्चित फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए ।
दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले २ हजार ८०४ रन बनाएका छन् । यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन् । सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेर उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका थिए ।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको अपेक्षाअनुसार विश्वचर्चित खेलाडीलाई टोलीमा भित्र्याउन सफल भएको बताएका छन् । मिलरको आगमनले टोलीको उपाधि जित्ने लक्ष्यसँगै नेपाली क्रिकेट र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उनको विश्वास छ ।
कर्णाली याक्समा मार्की खेलाडी सोमपाल कामी छन् । राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादवसहित अन्य नेपाली खेलाडी पनि टोलीमा आबद्ध छन् । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।






