पर्सा , भदौ २३ –
प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन छुट्टाछुट्टै अमेरिका जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल सेप्टेम्बर २१ मा न्यूयोर्क पुग्नेछन् भने प्रधानमन्त्री शाह सेप्टेम्बर २३ मा त्यहाँ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्नेछन् र २५ मा नेपाल फर्किनेछन् ।
खनाल भने महासभापछि अन्य उच्चस्तरीय बैठकमा सहभागी भएर सेप्टेम्बर २८ मा नेपाल फर्किनेछन् । महासभामा सहभागी हुन नेपालबाट परराष्ट्र सचिव, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसहित करिब १५ सदस्यीय टोली अमेरिका जानेछ ।
भोटेकोशी बाढीपछि जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाहलाई महासभामा सहभागी गराउन दबाब बढेपछि उनको छोटो भ्रमण तय गरिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको साइडलाइन भेटवार्ताबारे भने अहिलेसम्म कुनै कार्यक्रम तय भएको छैन ।






