न्यूयोर्क भदौ २३ –
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकी हिरासतमा रहेको करिब आठ महिनापछि उनका दुई तस्बिर सार्वजनिक भएका छन् । खैरो ट्र्याकसुट र सेता जुत्तामा देखिएका मदुरोले दुवै हातका बुढी औंलाले ‘ठिक’ भन्ने संकेत गरेका छन् ।
मदुरोका छोरा निकोलस मदुरो गुएराका अनुसार ती तस्बिर जुन २५ मा जेलभित्र खिचिएका थिए र जुलाई १३ मा मदुरोले हुलाकमार्फत अमेरिकास्थित ठेगानामा पठाएका थिए । परिवारले अगस्ट २५ मा प्राप्त गरेपछि अगस्ट ३० मा सार्वजनिक गरेको हो । अस्ट्रेलियाको एबीसीले तस्बिर वास्तविक रहेको र एआईबाट बनाइएको नभएको पुष्टि गरे पनि तस्बिर कहाँ र कुन परिस्थितिमा खिचिएको हो भन्ने स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जनवरी ३ मा काराकासबाट अमेरिकी कमान्डोले नियन्त्रणमा लिएपछि न्यूयोर्कको ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । दुवै एउटै हिरासत केन्द्रमा भए पनि पुरुष र महिला बन्दीका लागि छुट्टाछुट्टै युनिटमा छन् । उनीहरूमाथि लागुऔषध तस्करी तथा हतियारसम्बन्धी आरोप छ, जसलाई दुवैले अस्वीकार गरेका छन् ।
मदुरोलाई सामान्य बन्दीभन्दा कडा सुरक्षा व्यवस्थामा राखिएको बताइएको छ । उनको फोन सम्पर्क, भेटघाट र बाहिरी सञ्चार सीमित छ भने खुला इन्टरनेट उपलब्ध छैन । उनी परिवार र वकिलसँग महिनामा करिब ३०० मिनेट फोन गर्न पाउने बताइएको छ । उनका सामाजिक सञ्जाल खाता भने बाहिर रहेका सहयोगीहरूले सञ्चालन गरिरहेका छन् ।
मदुरोका वकिलहरूले उनी सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख भएकाले अमेरिकी अदालतमा मुद्दा चलाउन नमिल्ने भन्दै अभियोग खारेजीको माग गरेका छन् । सुनुवाइ सन् २०२७ जुन १ बाट सुरु हुने तालिका छ भने यससम्बन्धी कानुनी बहस नोभेम्बर १७ मा हुने रोयटर्सले जनाएको छ ।
मदुरोका छोराका अनुसार उनी जेलमा टेलिभिजन हेर्ने, व्यायाम गर्ने र बाइबल पढेर समय बिताउने गर्छन् । यद्यपि उनका स्वास्थ्यसम्बन्धी पछिल्ला दाबीहरू स्वतन्त्र चिकित्सकीय रिपोर्टबाट पुष्टि भएका छैनन् । सार्वजनिक तस्बिरमा उनी पहिलेभन्दा दुब्लो देखिए पनि त्यसबाट स्वास्थ्य अवस्थाबारे निष्कर्ष निकाल्न नसकिने जनाइएको छ।






