पर्सा , भदौ २३ –
नेपालमा आएको विनाशकारी बाढीप्रति बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि सक्दो सहयोग गर्ने इच्छा व्यक्त गरेकी छन् ।
काठमाडौंसँग पारिवारिक सम्बन्ध रहेकी सुनिताले आफूकी आमा र हजुरआमा काठमाडौंका भएको बताउँदै नेपाललाई आफ्नो मातृभूमि मान्ने गरेको उल्लेख गरेकी छन् । उनले हरेक वर्ष छोरीसँग नयाँ वर्ष मनाउन नेपाल आउने र पशुपतिनाथ मन्दिर पुग्ने गरेको बताइन् ।
राहतका लागि सहयोग गर्न भरपर्दो माध्यम खोजिरहेको बताउँदै सुनिताले सहयोग वास्तविक पीडितसम्म पुग्ने सुनिश्चितता गर्न सक्ने व्यक्तिसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिइन् ।
उनले बलिउड फिल्म उद्योगका कलाकार तथा सम्बन्धित सबैलाई नेपालका बाढीपीडितका लागि सहयोग गर्न आग्रह गरेकी छन् । साथै, अभिनेत्री मनिषा कोइरालालाई बहिनीजस्तै मान्ने उल्लेख गर्दै उनले मनिषाले पनि नेपालका जनताका लागि सक्दो सहयोग गरिरहेकीमा आफू विश्वस्त रहेको बताइन् ।
सुनिता पछिल्लो समय रियालिटी शो ‘लक अप : सच या सजा’ मा देखिएकी थिइन् । उनी ‘लाफ्टर सेफ्स’ र ‘मैँ हुँ ना’ मा समेत सहभागी भइसकेकी छन् ।






