मुम्बई , भदौ २३ –
कुनै समय बलिउडका चर्चित जोडी मानिएका अक्षय कुमार र शिल्पा शेट्टीको सम्बन्धबारे फिल्म निर्देशक सुनील दर्शनले पुराना कुरा सार्वजनिक गरेका छन् ।
सन् १९९९ को फिल्म ‘जानवर’का निर्देशक दर्शनका अनुसार फिल्मको सुटिङका क्रममा अक्षय र शिल्पा एकअर्कासँग निकै नजिक थिए । उनीहरू विवाहको तयारीमा समेत रहेको आफूले बुझेको र विवाह हुने अपेक्षा गरेको उनले एक अन्तर्वार्तामा बताएका छन् । तर पछि उनीहरूको सम्बन्ध टुटेको उनले बताए ।
अक्षय र शिल्पाले ‘धड्कन’, ‘मैँ खिलाडी तू अनाडी’, ‘जानवर’ र ‘इन्साफ’ लगायत फिल्ममा सँगै काम गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले पनि रुचाएका थिए ।
दर्शनका अनुसार ‘जानवर’ अक्षयको करिअरका लागि महत्वपूर्ण फिल्म बन्यो । त्यसअघि लगातार फिल्म असफल भएपछि संघर्ष गरिरहेका अक्षयलाई यो फिल्मको सफलताले नयाँ उचाइमा पुर्याएको उनको भनाइ छ । फिल्म सफल भएपछि अक्षयले लगातार काम पाउन थाले ।
शिल्पासँग सम्बन्ध टुटेपछि अक्षयले ट्विंकल खन्नासँग विवाह गरे । यता शिल्पाले पनि आफ्नो अभिनय करिअरलाई निरन्तरता दिइन् ।






