बाढीपीडितलाई सहयोग गर्न विश्व समुदायलाई अस्कर विजेता योहको अपिल

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २३ –

अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् ।

योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै धेरै घर बगाएको बताएकी छन् ।

उनले हिमालय क्षेत्रमा राहत तथा पुनर्निर्माणमा सक्रिय संस्था ‘लिभ टु लभ’मार्फत नेपालका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छन् । सन् २०१५ को भूकम्पपछि आफू उक्त संस्थासँगै नेपाल पुगेर राहत कार्यमा सहभागी भएको स्मरण गर्दै उनले खाद्यान्न, औषधि, पाल, प्राथमिक उपचार तथा शिशु स्याहारका सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको बताएकी छन् ।

योहका अनुसार ‘लिभ टु लभ’ले भूकम्पपछि सयौं घर पुनर्निर्माण गर्नुका साथै स्वास्थ्य सेवा तथा मानव बेचबिखनविरुद्धका कार्यक्रमसमेत सञ्चालन गरेको थियो । अहिले घर तथा परिवारका सदस्य गुमाएका नेपालीप्रति सहानुभूति व्यक्त गर्दै उनले विपद्को यो घडीमा नेपाललाई साथ दिन सबैलाई एकजुट हुन आग्रह गरेकी छन् ।

सम्बन्धित पोस्टहरुः