पर्सा , भदौ २३ –
अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म एलिफेन्ट्स इन द फग (तिनीहरू) हराएकी छोरी अप्सराको खोजीमा निस्किएकी धर्मआमा पिरतीको यात्रामा आधारित छ । तर यो केवल हराएको व्यक्तिको खोजीको कथा होइन, समाजको संकीर्णता, मातृत्व, पहिचान र सीमान्तकृत समुदायको अस्तित्वको प्रश्न उठाउने फिल्म हो ।
फिल्मले मातृत्वलाई जैविक सम्बन्धमा मात्र सीमित गर्ने सामाजिक सोचमाथि प्रश्न गर्छ । अप्सरालाई जन्म नदिए पनि पिरतीले उनलाई छोरीका रूपमा स्वीकारेकी हुन्छिन् । तर प्रहरी, अस्पताल र समाजको व्यवहारले किन्नर समुदायप्रतिको पूर्वाग्रह र विभेदलाई उजागर गर्छ । अस्पतालमा मृत शरीर हेर्नसमेत ‘रगतको नाता’ खोजिनु र प्रहरीबाट अपमानजनक व्यवहार हुनु फिल्मका मार्मिक पक्ष हुन् ।
निर्देशकले किन्नर समुदायलाई परम्परागत सिनेमामा जस्तो हास्य वा निरीह पात्रका रूपमा प्रस्तुत गरेका छैनन् । उनीहरूलाई प्रेम, यौनिकता, रिस, डर, कमजोरी र व्यक्तिगत स्वतन्त्रताको चाहना भएका सामान्य मानिसका रूपमा देखाइएको छ । पिरती पनि आदर्श पात्र होइनन्, बरु आफ्ना चाहना र कमजोरीसहितको मानवीय चरित्र हुन् ।
फिल्मको अर्को महत्वपूर्ण पक्ष जंगली हात्तीको बिम्ब हो । मानव बस्ती र जंगलको सीमामा बाँचेका हात्ती तथा समाजको किनारामा रहेका किन्नर समुदायलाई निर्देशकले समानान्तर रूपमा प्रस्तुत गरेका छन् । हात्ती धपाउन जाने गाउँलेहरूकै समाजले किन्नर समुदायलाई भने स्वीकार नगर्ने विरोधाभास फिल्ममा प्रभावकारी रूपमा देखाइएको छ ।
प्राविधिक रूपमा पनि फिल्म बलियो छ । सिनेमाटोग्राफर नोए बाचले रातका दृश्य, प्रकाश, रंग र वातावरणलाई कथासँग जोडेर प्रस्तुत गरेका छन् । जंगलको आवाज, हात्तीको गर्जन र किन्नर समुदायको तालीले फिल्मको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । पुष्पा थिङ लामाको पिरतीका रूपमा रहेको अभिनय विशेष प्रभावशाली छ भने आशान्त शर्मा र किन्नर समुदायबाट आएका कलाकारहरूको अभिनय पनि स्वाभाविक देखिन्छ ।
यद्यपि फिल्ममा केही कमजोरी छन् । अप्सराको चरित्र र विगतलाई पर्याप्त विस्तार नगरिनु, पिरतीको मनोवैज्ञानिक द्वन्द्वलाई अझ गहिराइमा नलगिनु तथा केही बिम्ब अत्यधिक अमूर्त हुनु कमजोरीका रूपमा देखिन्छ । फिल्मको गति पनि केही दर्शकका लागि सुस्त लाग्न सक्छ ।
समग्रमा एलिफेन्ट्स इन द फग (तिनीहरू) नेपाली समाजमा अझै विद्यमान पूर्वाग्रह र बहिष्करणमाथि प्रश्न गर्ने कलात्मक फिल्म हो । कान्सको ‘अन सर्टेन रिगार्ड’मा जुरी पुरस्कार जितेर अन्तर्राष्ट्रिय पहिचान बनाएको यो फिल्मले किन्नर समुदायलाई समाजको किनाराबाट केन्द्रमा ल्याउने प्रयास गरेको छ । निर्देशक शाहले पहिलो फिचरमै परिपक्व प्रस्तुति दिएका छन्, जसले नेपाली सिनेमामा नयाँ सम्भावनातर्फ संकेत गर्छ ।







