पर्सा , भदौ २३ –
राष्ट्रिय सभा सदस्य रंजित कर्णले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिका लागि जलवायु क्षतिपूर्ति माग गर्दै संयुक्त राष्ट्रसंघ (यूएन) र क्षति तथा हानि सम्बोधन गर्ने कोष (एफआरएलडी) लाई छुट्टाछुट्टै पत्र पठाएका छन् ।
गत १० भदौमा आएको बाढीलाई जलवायुजन्य विपद्सँग जोड्दै कर्णले यूएनका महासचिव एन्टोनियो गुटेरेससमक्ष विपद्पछिको उद्धार, पुनर्निर्माण र क्षतिको विस्तृत मूल्यांकनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्तलाई प्राथमिकता दिनुपर्ने तथा उच्च हिमाली विपद्को वैज्ञानिक अध्ययन र पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्ने मागसमेत गरेका छन् ।
एफआरएलडीका सहअध्यक्षद्वय कामिला मिनेर्भा रोड्रिगेज तावारेज र जर्ज बर्स्टिङ तथा कार्यकारी निर्देशक इब्राहिमा चेख डियोङलाई पठाइएको अर्को पत्रमा कर्णले नेपाललाई अनुदानमा आधारित क्षतिपूर्ति सहयोग उपलब्ध गराउने संस्थागत बाटो तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
उनले आर्थिक तथा गैरआर्थिक क्षतिको मूल्यांकन, हिमनदी पग्लिने तथा अस्थिर हिमशिलाचट्टान प्रणालीबाट हुने जोखिमका लागि छुट्टै कार्यसमूह गठन र हिमाली विपद्का लागि सहज तथा सरलीकृत सहयोग प्रक्रिया अपनाउन माग गरेका छन् ।
कर्णका अनुसार जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसको असर नेपालजस्ता पहाडी तथा हिमाली मुलुकले बढी बेहोर्नुपरेको छ । त्यसैले अन्तर्राष्ट्रिय सहयोग राहतका रूपमा नभई क्षतिपूर्तिका रूपमा र थप ऋणको भार नथपिने गरी उपलब्ध हुनुपर्ने उनको तर्क छ ।







