हुथीको हमला, बढ्यो तेलको भाउ

1200x150_1200x150-01.jpg (1)

यमनको हुथी समूहले मंगलबार साउदी अरबका तेल खानी लगायत ऊर्जा पूर्वाधार र सहरहरूमा आक्रमण गरेको छ।

इरानले चलाउने सो समूहको आक्रमणका कारण ७० भन्दा बढी साउदी नागरिक घाइते भएको र अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको भनेर फाइनान्सियल टाइम्सले जनाएको छ।

अमेरिकाले दुई हप्ताअघि इरानमाथि लगाएको आर्थिक नाकाबन्दी थप कडा बनाएपछि अमेरिका-इरान द्वन्द्व थप चर्किएको छ।

विगत केही दिनमा दुई पक्षबीच आक्रमण तीव्र हुँदै जाँदा खाडी क्षेत्रका तेल र ग्यास सहितका ऊर्जा पूर्वाधारहरू जोखिममा रहेको इरानले चेतावनी दिएको थियो। त्यसलगत्तै हुथीले साउदीमा आक्रमण गरेका हुन्। आक्रमणका कारण तेलको मूल्य बढेर छ हप्ताभन्दा बढी समयको उच्च बिन्दुमा पुगेको छ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार केही ऊर्जा पूर्वाधारहरूमा आगो लागेको छ र आगो नियन्त्रणमा लिन दमकल तथा अन्य आपतकालीन टोलीहरू परिचालन भएको जनाएको छ।

यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले दक्षिणी साउदीको चार सहरहरूमा भएका आक्रमणमा कम्तीमा ७३ जना घाइते भएको बताएका छन्।

‘गठबन्धनले यस आतङ्ककारी विद्रोही समूहलाई रोक्न सबै आवश्यक परिचालन उपायहरू अपनाउनेछ र यसको शत्रुतापूर्ण अडानको दृढतापूर्वक सामना गर्नेछ,’ कर्णेल टर्की अल-मलिकीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गरेर भनेका छन्।

यमनका सबैभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रहरू र उत्तरका अधिकांश भागहरू नियन्त्रणमा लिएका हुथीले जुलाईमा रियाध विरूद्ध सामुद्रिक नाकाबन्दी घोषणा गरेपछि रेड सीमा साउदी जहाजहरूलाई लक्षित गर्दै साउदीतर्फ आक्रमण गर्दै आएका छन्।

इरानले महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुजमा जल यातायात निरन्तर सीमित गरिरहेकाले यो हप्ता मालवाहक जहाजको आवतजावत पुनः सुस्त भएको छ। यस्तो बेलामा रेड सीमा भइरहेको अवरोध र साउदीमा अहिले भएको हमलाले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिबारे चिन्ता थपिदिएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

सम्बन्धित पोस्टहरुः