रौतहट , असोज १७ –
रौतहटको गौरसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया क्षेत्रमा धान खेतमा बिछ्याइएको खुला विद्युतीय तारमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।
शनिबार बिहान बैरगनिया प्रखण्डअन्तर्गत अख्ता पश्चिमी चकवा पञ्चायत–५ को तकिया टोलमा भएको घटनामा तीन स्थानीयवासीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।
स्थानीयका अनुसार भैंसी खोज्न खेततर्फ गएका व्यक्तिहरू खुला विद्युतीय तारको सम्पर्कमा आएपछि दुर्घटना भएको हो। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा दुई वटा जंगली बँदेलसमेत मृत फेला परेका छन्। प्रारम्भिक विवरणअनुसार धानबाली जोगाउन जंगली जनावर नियन्त्रणका लागि खेतमा खुला विद्युतीय तार बिछ्याइएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।







