अदालतको आदेशपछि करिब एक सय परिवार विस्थापनको चिन्तामा

1200x150_1200x150-01.jpg (1)

बारा , मङ्सिर २ –

बारा जिल्ला अदालतको आदेशपछि जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित गमहरगाउँका करिब एक सय घरपरिवार विस्थापित हुन सक्ने अवस्था देखिएको छ। करिब ६० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय घरबार गुम्ने चिन्तामा परेका छन्।

स्थानीयका अनुसार उनीहरूले गत कात्तिक १२ गते वडा कार्यालयमार्फत भूमिहीन तथा अव्यवस्थित बसोबासीको निस्सा प्राप्त गरेका थिए। तर, सार्वजनिक बाटो अतिक्रमण गरी घरटहरा निर्माण गरिएको दाबी गर्दै नरेशप्रसाद यादवले २०७९ फागुन २ गते बिरजु महतो धानुकसहित १० जनाविरुद्ध जिल्ला अदालत बारामा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा जिल्ला न्यायाधीश प्रकाश अधिकारीको इजलासले वादीको दाबी पुग्ने आदेश दिएको स्थानीयले बताएका छन्।

स्थानीयले आफूहरू कित्ता नम्बर ४८ अन्तर्गतको ऐलानी जग्गामा बसोबास गर्दै आएको र बस्तीमा ४० फिटको बाटो तथा दुवैतर्फ नाला निर्माण भइसकेको दाबी गरेका छन्। उनीहरूले बस्ती हटाउन खोजिएकोप्रति असन्तुष्टि जनाउँदै उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छन्।

यता, जीतपुरसिमरा–८ का वडाध्यक्ष शिवशंकर महतो कोइरीले प्रभावित परिवारको समस्या प्रशासनसमक्ष पुर्‍याएर समाधानका लागि पहल गर्ने बताएका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा छलफल गरी सम्बन्धित मन्त्रालयसम्म विषय उठाइने जानकारी दिएका छन्।

अदालतको आदेश कार्यान्वयन र स्थानीयको आवास सुरक्षाबीच देखिएको विवादले करिब एक सय परिवारको भविष्य अन्योलमा परेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः