गुल्मी , मङ्सिर २ –
जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी सरकारी निवासमै मृत फेला परेका छन्।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी मंगलबार बिहान जिल्ला प्रहरी कार्यालयको सिनियर अधिकृत निवासमा अचेत अवस्थामा भेटिएका थिए। बिहान साढे ९ बजेसम्म निवासबाट बाहिर ननिस्किएपछि अवस्था बुझ्न पुगेको प्रहरीले ढोका भित्रबाट बन्द रहेको अवस्थामा झ्यालबाट प्रवेश गरी उनलाई बाहिर निकालेको थियो।
तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार केसीको मृत्युको कारण खुलेको छैन। पोस्टमार्टम रिपोर्टपछि कारण यकिन हुने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







