जनकपुरधाम , असोज १७ –
मधेश प्रदेशसभाको बैठक साढे दुई महिनादेखि बस्न सकेको छैन। बैठक सञ्चालन नभए पनि प्रदेशसभा सदस्यहरूको तलबभत्तामा मात्रै करिब १ करोड ४० लाख रुपैयाँ खर्च भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभाको पछिल्लो बैठक असार ३१ गते बजेट पारित गर्न बसेको थियो। त्यसयता बैठक सञ्चालन हुन सकेको छैन। बैठक नबसे पनि संसदीय समितिका बैठक भने सञ्चालन भइरहेको प्रदेशसभा प्रवक्ता सुरेन्द्र महतोले बताएका छन्। मधेश प्रदेशसभामा १०७ सदस्य छन् भने तलबभत्ता, इन्धन, सञ्चारलगायत सुविधासहित मासिक करिब ७० लाख रुपैयाँ खर्च हुने जनाइएको छ।
सभामुख रामअशिष यादवले प्रदेशसभा बैठक आह्वानका विषयमा मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पटक–पटक छलफल गरे पनि मन्त्रिपरिषद्बाट अहिलेसम्म औपचारिक निर्णय नभएको बताएका छन्। प्रदेशसभा सञ्चालनका लागि आफूहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ।
सभामुख यादवका अनुसार लामो समयसम्म सदन सञ्चालन नहुँदा विधायिकी काम प्रभावित हुनुका साथै प्रदेशसभा सदस्यहरूले जनताका समस्या र सार्वजनिक सरोकारका विषय सदनमा उठाउने अवसरसमेत गुमाइरहेका छन्। उनले प्रदेशसभा बैठक सञ्चालनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
बैठक नबसे पनि प्रदेशसभा सदस्यको तलबभत्ता नियमित रूपमा खर्च भइरहेको विषयमा प्रश्न उठ्न थालेको छ। प्रदेशसभा सदस्यहरूले समेत लामो समय सदन निष्क्रिय हुँदा जनताका मुद्दा उठाउन समस्या भएको बताएका छन्।
प्रदेशसभा सदस्यहरूको कार्यकाल अब करिब ६–७ महिना मात्रै बाँकी रहेकाले नियमित बैठक सञ्चालन गरी बाँकी विधायिकी काम अघि बढाउनुपर्ने आवाज उठेको छ।







