पर्सा , असोज १७ –
बलिउड अभिनेत्री उर्वशी रौतेलाको टोलीले अमेरिकाको लस एन्जलसस्थित ‘बलिउड एआई’ कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउने जनाएको छ। अनुमति नलिई अभिनेत्रीको नाम, तस्बिर तथा भिडियो प्रयोग गरेको आरोप लगाउँदै टोलीले कम्पनीसँग ७ हजार करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरिएको जनाएको हो।
कम्पनीका संस्थापक तथा सीईओ शीराज हसनले भने उक्त दाबीलाई हास्यास्पद भन्दै एआई र मनोरञ्जन उद्योगको विकास रोक्न नसकिने बताएका छन्।
उर्वशीको एआईसम्बन्धी अन्तर्वार्ता भाइरल भएपछि विवाद सार्वजनिक भएको हो। यसअघि पनि अमिताभ बच्चन, सलमान खान, अनिल कपूरलगायत बलिउड कलाकारले आफ्नो नाम, आवाज, तस्बिर वा पहिचानको अनधिकृत एआई प्रयोगविरुद्ध कानुनी कदम चालेका छन्।






