पर्सा। पर्साको धोबिनी गाउँपालिका–५, नौकाटोलामा होप फर ह्युम्यानिटी संस्थाले बालबालिकाको शैक्षिक विकासलाई लक्षित गर्दै निःशुल्क ट्युसन कक्षा सञ्चालनमा ल्याएको छ। कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकालाई लक्षित गरी सुरु गरिएको उक्त कार्यक्रम निरन्तर सञ्चालन गरिने संस्थाले जनाएको छ।
बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने, पढाइमा सहयोग गर्ने तथा शिक्षाबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। ट्युसन कक्षाको शिक्षिकाका रूपमा सबनम खातुन रहेकी छन्।
ट्युसन कक्षा सञ्चालनको पहिलो दिन नै ४३ जनाभन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो। आगामी दिनमा विद्यार्थीको सङ्ख्या अझै बढ्दै जाने अपेक्षा संस्थाले गरेको छ। ग्रामीण तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका विशिष्ट सल्लाहकार तैयाब अंसारीले गरेका थिए। कार्यक्रममा संस्थाका प्रोजेक्ट म्यानेजर ताहिर अंसारी, प्रमुख सल्लाहकार अशोक पटेल, कोषाध्यक्ष सजाद अंसारी, सचिव मुस्ताक अंसारी, वडा अध्यक्ष मनौवर अहमद, ललन पटेल, सेखावत अंसारी, ताहिर आलमलगायतको उपस्थिति रहेको संस्थाका सचिव मोहम्मद मुस्ताक अंसारीले जानकारी दिए।
संस्थाका संस्थापक इलियास अंसारीले गाउँ–टोलका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क ट्युसन कार्यक्रम सुरु गरिएको बताए।
उनले भने, “शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो। आर्थिक अवस्था कमजोर भएका वा विभिन्न कारणले पढाइमा आवश्यक सहयोग पाउन नसकेका बालबालिकालाई समेत शिक्षाको अवसर उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो। गाउँका बालबालिकाले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् र आफ्नो भविष्य उज्ज्वल बनाउन सकून् भन्ने हाम्रो चाहना छ।”
उनका अनुसार बालबालिकाको शैक्षिक स्तर सुधार गर्न विद्यालयको पढाइसँगै अतिरिक्त शैक्षिक सहयोग पनि आवश्यक हुन्छ। त्यसैले विद्यार्थीलाई नियमित अध्ययन गर्ने बानीको विकास गराउने, पढाइप्रति रुचि बढाउने र सिकाइमा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
संस्थापक अंसारीले थपे, “आजका बालबालिका भोलिका देशका कर्णधार हुन्। उनीहरूलाई सही समयमा शिक्षा र आवश्यक मार्गदर्शन दिन सकियो भने भविष्यमा सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउन सकिन्छ। यस अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि बालबालिकाको शैक्षिक विकासका लागि सक्दो प्रयास गर्ने हाम्रो प्रतिबद्धता छ।”
स्थानीयस्तरमै निःशुल्क ट्युसन कक्षा सञ्चालन भएपछि आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई राहत पुग्ने अपेक्षा गरिएको छ। यसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन, विद्यालयको पढाइमा सहयोग पुर्याउन र समुदायमा शिक्षाप्रतिको जागरूकता अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।







