जेनजी आन्दोलनका आधारभूत मागमध्ये एउटा पनि पूरा भएन : तनुजा पाण्डे

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २३ –

जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आन्दोलनको एक वर्ष पूरा भए पनि आफूहरूले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्ण रूपमा पूरा नभएको बताएकी छन् ।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताको मागसहित सुरु भएको आन्दोलनले सत्ता परिवर्तन गरे पनि त्यस क्रममा उठेका सत्य, जिम्मेवारी र न्यायका प्रश्न अझै अनुत्तरित रहेको बताएकी हुन् ।

उनले आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो, घुसपैठ र ब्यारिकेड तोड्ने अवस्था कसरी सिर्जना भयो तथा अवस्था नियन्त्रणबाहिर जानुअघि तत्कालीन सरकार र सुरक्षा निकायले आवश्यक कदम किन चाल्न सकेनन् भन्ने प्रश्न उठाएकी छन् । विद्यार्थीमाथि गोली चलाउने आदेश कसले दियो र आन्दोलनका क्रममा भएको मानवीय क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनले गरेकी छन् ।

पाण्डेले भदौ २४ गते भाटभटेनीमा भएको आगजनीलगायत घटनामा मृत्यु भएका व्यक्तिको पहिचान, मृत्युको कारण र जिम्मेवार पक्षबारे स्पष्ट जवाफ आउन नसकेको बताएकी छन् । साथै, राज्यको व्यवहारमा देखिएको भनिएको दोहोरो मापदण्ड, पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रक्रियाको आधार तथा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइमाथि पनि उनले प्रश्न उठाएकी छन् ।

आन्दोलनको मिति भदौ २३ वा २४ लाई लिएर हुने बहसभन्दा दुवै दिन भएका मृत्यु, सत्य र जिम्मेवारीको विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइते र पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै पाण्डेले आफू अझै पनि उठाइएका प्रश्नको जवाफ र न्यायको प्रतीक्षामा रहेको बताएकी छन् ।

सम्बन्धित पोस्टहरुः