पर्सा ,भदौ २३ –
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि मुलुकमा सुशासनको अवस्था झन् कमजोर भएको आरोप लगाएका छन् ।
भैरहवामा सोमबार आयोजित जसपा नेपाल कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा यादवले रास्वपाले निर्वाचनमा विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाएर जनसमर्थन पाए पनि सरकारमा पुगेपछि ती विषय ओझेलमा परेको दाबी गरे । भ्रष्टाचार र कमिसनतन्त्र अन्त्य नभई त्यसको शैली मात्र परिवर्तन भएको उनको आरोप थियो ।
यादवले मुलुकमा कुशासन कायम रहेको र बढ्दो करको भारसँगै कृषि, उद्योग तथा पर्यटन क्षेत्र कमजोर बन्दै गएको बताए । देश आर्थिक मन्दीको जोखिमतर्फ उन्मुख रहेको उनको दाबी थियो ।
यसैबीच, विगतमा कांग्रेस र कम्युनिस्ट पार्टीसँग मिलेर सत्ताको राजनीतिमा सहभागी हुनु आफ्नो पार्टीको गल्ती भएको स्वीकार गर्दै यादवले आत्मसमीक्षापछि प्रदेश सांसदसहित २१ जनामाथि कारबाही गरिएको जानकारी दिए ।
जलवायु परिवर्तनको विषयमा पनि धारणा राख्दै उनले विकसित मुलुकबाट हुने हरितगृह ग्यास उत्सर्जनका कारण नेपाल जलवायु संकटको उच्च जोखिममा परेको बताए ।






