न्हा ट्राङ , भदौ २३ –
डोमिनिकन रिपब्लिककी २४ वर्षीया जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६’ को उपाधि जितेकी छन् । भियतनामको न्हा ट्राङमा शनिबार साँझ आयोजित प्रतियोगितामा १११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
यो डोमिनिकन रिपब्लिकको मिस वर्ल्डमा दोस्रो उपाधि हो । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो उपाधि जितेकी थिइन् । स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप तथा मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बनिन् । चेट्टीले ‘ब्युटी विथ अ पर्पस’ उपाधिसमेत जितिन् ।
मोलाले मिस वर्ल्ड डोमिनिकन रिपब्लिक २०२५ को उपाधि जित्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेकी थिइन् । उनले अमेरिका तथा क्यारेबियन क्षेत्रको ‘टप मोडल’ प्रतियोगिता जितेर मिस वर्ल्डको शीर्ष ४० मा स्थान बनाएकी थिइन् ।
सान्तो डोमिङ्गोकी मोला शिक्षिका, पत्रकार तथा सामुदायिक अभियन्ता पनि हुन् । उनले बिजनेस म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसनमा स्नातक गरेकी छन् । युवालाई अंग्रेजी शिक्षा तथा अवसरमा पहुँच दिलाउने उद्देश्यले उनले ‘भ्वाइसेस अफ टुमरो’ नामक सामाजिक पहलसमेत सञ्चालन गर्दै आएकी छन् ।
मिस वर्ल्ड २०२६ को प्रतियोगिता अगस्ट ८ देखि सेप्टेम्बर ५ सम्म भियतनाममा सञ्चालन भएको थियो । गत वर्षकी विजेता ओपल सुचाताले मोलालाई ताज पहिर्याएकी थिइन् । आगामी ७४औँ मिस वर्ल्ड प्रतियोगिता तान्जानियामा आयोजना हुने जनाइएको छ ।






