पर्सा , भदौ २३ –
नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयको ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ प्राप्त गरेको छ । तिमोर–लेस्तेको दिलीमा आयोजित डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कमिटीको ७९औँ बैठकमा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्तलाई अवार्ड प्रदान गरेका हुन् ।
रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा पहुँचबाट बाहिर रहेका समुदायसम्म समतामूलक आँखा स्वास्थ्य सेवा विस्तारमा पुर्याएको योगदानका लागि सङ्घलाई उक्त सम्मान प्रदान गरिएको डब्लुएचओले जनाएको छ । यस वर्ष सार्वजनिक स्वास्थ्य विधामा सङ्घसँगै थाइल्याण्डका डा. नित्ताया फानुफाक र भारतका डा. के. सुरेशकुमार पनि सम्मानित भएका छन् ।
सङ्घका अनुसार हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सङ्घले २८ आँखा अस्पताल तथा ४४ जिल्ला शाखाअन्तर्गत २२६ आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।
डब्लुएचओका अनुसार नेपालमा अन्धोपनको अवस्था सन् १९८१ को ०.८४ प्रतिशतबाट सन् २०२०/२१ सम्ममा ०.२८ प्रतिशतमा झरेको छ । यस वर्ष सार्वजनिक स्वास्थ्यतर्फ १०२ मनोनयनबाट प्रभाव, नवीनता, विस्तारयोग्यता, दिगोपन र समतामूलक पहुँचका आधारमा अवार्डका प्राप्तकर्ता छनोट गरिएको थियो ।
सङ्घले उक्त सम्मानलाई चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, सरकार, विकास साझेदार, दातृ संस्था तथा स्थानीय समुदायको सामूहिक योगदानको सम्मानका रूपमा लिएको जनाएको छ । साथै, गत आर्थिक वर्षमा विदेशी बिरामीमार्फत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएको र यसबाट स्वास्थ्य पर्यटनको सम्भावना विस्तार भएको सङ्घको भनाइ छ ।






