वीरगञ्ज । प्याब्सन पर्सा र वीरगञ्जको आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ ।
वीरगञ्जस्थित डिएभी स्कुलमा मङ्गलवार सम्पन्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमीले १७० अङ्क प्राप्त गरी प्रथम हुँदै उपाधि जितेको छ ।
उपाधिका लागि भएको फाइनल प्रतिस्पर्धामा गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय सहभागी थिए ।
फाइनलमा साउथ जोन सेकेन्डरी स्कुल र ज्ञानज्योति माध्यमिक विद्यालयले समान १६५ अङ्क प्राप्त गरेपछि दोस्रो र तेस्रो स्थान निर्धारणका लागि टाइब्रेकर गरिएको थियो । टाइब्रेकरमा ज्ञानज्योति माध्यमिक विद्यालय दोस्रो र साउथ जोन सेकेन्डरी स्कुल तेस्रो भएको आयोजकले जनाएको छ । अन्य सहभागी गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र मास्कट एकेडेमीले पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणमा आफ्नो उपस्थितिलाई प्रभावशाली बनाएका छन् ।
आयोजकका अनुसार प्रतियोगितामा वीरगञ्ज प्याब्सनसँग आबद्ध ३१ वटा विद्यालय सहभागी भएका थिए । विभिन्न चरणमा सम्पन्न प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने पाँच विद्यालय सिनियरतर्फको फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगञ्जका सचिव अमित आलोकका अनुसार विद्यार्थीमा ज्ञान, तर्क क्षमता, सामान्य जानकारी र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।
फाइनल प्रतियोगिताको औपचारिक उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा भएको थियो । उनीहरूले माता सरस्वतीको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह रहेका थिए । कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशीला साहले दिएकी थिइन् ।
कार्यक्रममा प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशीला साह, प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेस प्रदेशका सल्लाहकार इमामुदिन अहमद, प्याब्सन वीरगञ्जका नगर सदस्यहरू विजय बल र सुमित कलवार, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, डिएभी स्कुलका राकेश मिश्रा, धनुषाका अध्यक्ष नवल किशोर साह, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिन लगायतको उपस्थिति थियो ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।






