चालकको तलब कर्मचारीलाई दिने प्रस्तावप्रति सांसद संग्रौलाको आपत्ति

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ७ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले कर्मचारी आफैँले गाडी चलाएमा चालकको तलबसमेत कर्मचारीलाई दिने गरी ल्याउन लागिएको प्रस्तावप्रति आपत्ति जनाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको समाचार सार्वजनिक भएपछि संग्रौलाले फेसबुकमार्फत असन्तुष्टि जनाएकी हुन् ।

उनले उक्त प्रस्ताव सत्य भए स्वीकार्य नहुने बताउँदै चालकको रोजगारी खोसेर उसको तलब कर्मचारीलाई दिनु उचित नभएको उल्लेख गरेकी छन् । सांसद संग्रौलाले कर्मचारीले स्वकीय सचिव नराखी आफैँ काम गरेर त्यसको सुविधा आफैँ लिने हो भने के हुन्छ भन्दै नियम बनाउँदा सबै पक्षलाई ध्यान दिनुपर्ने बताएकी छन् ।

सरकारले नागरिकमैत्री वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले प्रशासनिक खर्च कटौतीका नाममा गरिब तथा श्रमजीवी वर्गको रोजीरोटी खोस्ने काम उचित नभएको धारणा राखेकी छन् ।

उनले प्रस्तावित व्यवस्थाले सवारी चालकको रोजगारी र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै यस विषयमा आम नागरिक तथा सरोकारवालाको प्रतिक्रिया पनि माग गरेकी छन् ।

सम्बन्धित पोस्टहरुः