पर्सा, कार्तिक ७ –
तिहार र छठ पर्व नजिकिएसँगै अनलाइनमार्फत कपडा बिक्री गर्ने बहानामा ठगी गर्ने गिरोह सक्रिय हुन थालेको पाइएको छ । आकर्षक कपडाका तस्बिर देखाएर सस्तो मूल्यमा सामान उपलब्ध गराउने प्रलोभन दिँदै ग्राहकलाई ठगी गर्ने गरिएको छ ।
ठगी गर्नेहरूले सामाजिक सञ्जालमा आकर्षक कपडाका तस्बिर राखेर बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने प्रचार गर्छन् । तर, कपडा खरिद गर्न चाहने ग्राहकले कम्तीमा पाँच सेट कपडा अर्डर गर्नुपर्ने सर्त राखिन्छ ।
प्रत्येक सेटको डेलिभरी शुल्क २०० रुपैयाँ लाग्ने भन्दै ग्राहकलाई कपडा प्राप्त गर्नुअघि नै उक्त रकम अनलाइनमार्फत भुक्तानी गर्न लगाइन्छ । बाँकी रकम भने कपडा घरमा पुगेपछि तिर्न सकिने आश्वासन दिइन्छ ।
तर, ग्राहकले डेलिभरी शुल्क पठाएपछि अनलाइन विक्रेताहरू सम्पर्कविहीन हुने गरेको बताइएको छ । यसरी ग्राहकले पैसा गुमाउने जोखिम बढेको छ ।
चाडपर्वका बेला सस्तो मूल्यमा कपडा किन्ने चाहनालाई लक्षित गरी यस्ता ठगीका गतिविधि हुन सक्ने भएकाले अनलाइनबाट सामान खरिद गर्दा सावधानी अपनाउन आवश्यक छ । ग्राहकले विक्रेताको विश्वसनीयता जाँच गरेर मात्र रकम पठाउन तथा अपरिचित व्यक्तिको खातामा अग्रिम भुक्तानी गर्नुअघि सचेत रहनुपर्छ ।







